Saturday the 27th - Author: Joomla Templates

Causes of Sink holes in Armala, Pokhara

Ranjan Kumar Dahal, PhD

Department of Geology, Tribhuvan University, Ghantaghar, Kathmandu, Nepal

Please use this information extensively, but I request to acknowledge the source.

For Citation, use this line:

Dahal R.K., 2013, अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण - a report published in www.ranjan.net.np

कमेन्ट र सल्लाहको लागि : यहाँ थिच्नुस

नागरिक मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण

डा रन्जन कुमार दाहाल, सह-प्राध्यापक, भुगर्भ विभागत्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसघण्टाघरकाठमाडौंनेपाल

गत केहि दिन देखि लगातार रुपमा पोखराको जमिन भासिएको खबर पत्र-पत्रिका र अनलाइन मिडियामा रामरी हल्ला गरिएको हुनाले वास्तविकता बुझ्न अर्मला गाउको फिल्ड अवलोकन गरियो | पोखराको जमिनको बारेमा बैज्ञानिक कुरा गर्न भूगर्भविद नै सक्षम हुनु पर्ने व्यवसायिक मान्यता अनुरुप र अहिले सम्म बुझेको बैज्ञानिक कारणहरु र तिनीहरुको सुक्ष्म अध्ययनबाट प्राप्त जानकारीको आधारमा यो लेख तयार पारिएको छ |

मध्य नेपालको अति सुन्दर उपत्यका पोखरा भौगर्भिक रुपले अति नै रहस्यमय उपत्यकाको रुपमा लिन सकिन्छ | पोखरामा सेती नदीको रंग किन सेतो छ भन्ने कुराको जवाफ हामी जसो धेरैले सेती नदीको शिरमा चुनढुंगा पग्लिएर बनेको भन्ने रेडिमेड जवाफ सधै सुन्ने गर्छौ | गत सालको वैशाख महिनामा सेती नदीमा आएको बाढीको कारण बुझ्ने क्रममा सेती नदीको माथिल्लो भागको भौगर्भिक अध्ययन गरिएको थियो र सेतीको पानी सेतो हुने कारण बुझ्न सकिएको थियो | अन्नपुर्ण चौथो हिमाल भन्दा पश्चिममा रहेको अन्नपूर्ण भीमकाय खाल्डोमा रहेको पुरानो हिमतालमा हिमनदीले थुपारेको सेतो रंगको हिमनदीले थुपरेको पिठो जस्तो सेतो माटो छ (चित्र नं १) | यो सेतो माटोलाई बैज्ञानिक भाषामा सिल्ट भन्न सकिन्छ र हिम नदीले पुरानो हिमतालमा थुपारेको पिठो जस्तो माटो लाइ हिमपिठो पनि भनिन्छ | यस्तो सिल्ट माटोमा अधिक मात्रामा चुनढुंगा र अरु विभिन्न किसिमका चट्टानको धुलो पिठो छ, त्यसैलाई सेती नदीले बगाएर ल्याउने गरेको अनि त्यसै कारणले सेती नदि सेतो हुने गरेको छ | मुलभूत रुपमा यसमा चुनढुंगाको धुलो बढी छ | यो सेतो चुनढुंगे सिल्ट माटो क्ले माटो होइन | सिल्ट भनेको बैज्ञानिक रुपमा क्ले भन्दा ठुलो र बालुवा भन्दा साना कणहरुले बनेको माटो हो | पोखराको अर्मलाको जमिन मुनि रहेको सेतो "कमरे माटो" भनिएको माटो पनि क्ले होइन र यो त्यही सेतीको शिरमा रहेको सेतो रंगको चुनढुंगे सिल्ट माटो हो | सिल्ट भएकोले यसले हिलो हुदैन र हातमा लिएर मुछेर फालिदिएर हातमा हिलो लाग्दैन र हातसुके पछी टक-टकाएर नै हात सफा हुन्छ | यदि कमेरो माटो हो भने त कमेरोले हातमा हिलो लाग्छ | हातमा लागेको हिलो टक-टकाएर सफा हुदैन र हात धुनु नै पर्छ | अर्मलाको चुनढुंगे सेतो सिल्ट माटो सबैजनाले यहाँ उल्लेखित तरिकाले जाचेर हेर्न सकिन्छ र सिल्ट हो कि कमेरो माटो हो पत्ता लगाउन सकिन्छ | हाल सबैतिर अर्मलाको जमिन भित्र कमेरो माटो भएको भनिएको छ जुन आफैमा सहि होइन, यो त कमेरो जस्तो रंग भएको सेतो चुनढुंगे सिल्ट माटो हो | यो सिल्ट माटोमा बालुवामा जस्तो पानी सजिलै छिर्न सक्दैन र क्ले जस्तो पानी छिर्दै नछिर्ने पनि होइन | चुनढुंगे सिल्टमा पानी छिरेर बग्न पायो भने यसले बिस्तारै बगेको बाटो खोल्दै जान्छ किनकी मसिनो चुनढुंगाको सिल्ट को कणहरु पानी संगै बगेर जान्छ | यस्तो प्रकियालाई भौगर्भिक भाषामा पाईपिंगप्रकिया भनिन्छ र पानी बगेको भाग सानो दुलो को रुपमा परिवर्तन हुन्छ | कडा चुनढुंगामा पनि चुनढुंगा घोलिएर पनि यस्तो दुलो बन्छ र गुफाहरु बन्छन | पोखरामा यस्ता गुफाहरु प्रसस्त छन | यसैले अहिले अर्मलाको कारण खोज्ने क्रममा जसले पनि सजिलै कडा चुनढुंगामा जस्तो हुने समस्याको रुपमा बयान गरिरहेका छन् | जुन आफैमा सहि होइन |


अब अर्मलामा पाइने चुनढुंगे सिल्ट को तह-तह परेको थुप्रो कसरि बन्यो भन्ने कुरामा एक छिन चर्चा गरौ | पोखरा उपत्यकाको सेती नदीको बग्ने रुट भन्दा बाहिरी घेरामा यस्तो चुनढुंगे सेतो सिल्टको तह-तह परेको थुप्रो पाइने गरेको छ | जस्तो छोरेपाटनमा पुछारे खोलाको उत्तर पट्टि पनि पाइन्छ | हाल त्यहाँ जमिन प्लाटिग गरेर जग्गा बिकाश गरिएको छ | केहि बर्ष पहिले सम्म त्यहाँ धापहरु थिए र चुनढुंगे सिल्ट को उक्त धापमा बच्चाहरु डुवेर र पुरिएर मरेको कुरा अझै धेरै छोरेपाटनका पोखरेलीहरुलाई थाहा छ |

यो चुनढुंगे सिल्ट को थुप्रो जम्मा हुनेक्रम बुझ्नु पर्दा हामीले आज भन्दा झन्डै १४००० बर्ष देखिको कुरा सम्झिनु पर्छ | त्यो बेला सेती नदिमा अन्नपुर्ण चौथो हिमाल भन्दा पश्चिममा रहेको अन्नपूर्ण भीमकाय खाल्डोमा (चित्र नं २) रहेको झन्डै काठमाडौँ उपत्यकाको आधा जत्रो आकारको ताल फुटेर चुनढुंगे माटोको लेदो सहित पोखरामा बिशाल बाढी आएको थियो  | त्यो बाढीले ल्याएको लेदोमा चुनढुंगे सेतो सिल्ट, ठुला ठुला चट्टानका टुक्राहरु, ग्राभेल र बालुवा पनि थियो | पृथ्वी नारायण क्याम्पस को हातामा रहेको भिम ढुंगा र महेन्द्र पुल बजारमा रहेको चिप्लेढुंगा ठुला चट्टानका टुक्राहरुको उदाहरण हुन | पानी संगै आएको लेदोले हर्पन खोला थुनेर फेवा ताल बन्यो, पुछारे खोला पनि थुनिएको थियो र ताल बनेको थियो | काली खोला पनि थुनेको थियो र ताल बनेको थियो | बेगनाश ताल र रुपा ताल पनि यसै गरि बनेको हो | यसरि पोखराको वरिपरी सबैतिर प्रसस्त तालहरु बन्न पुगे | यहासम्म कि यस्ता तालहरु तनहुको खैरेनी (कुम्ले खोला) सम्म बनेका थिए | तर यी तालहरुमा सेती नदीमा आएको बिशाल बाढीमा आएको ग्राभेल र बालुवा हरु पुग्न सकेनन तर सिल्टमा हुने साना कणहरु ताल परेको पानीमा दुधिलो भएर धेरै समय सम्म तैरिएर रही बिस्तारै थेग्रिएको थियो र अहिलेको चुनढुंगे सिल्टको बाक्लो थुप्रो थुप्रिएको थियो | कालि खोलामा पनि यसरि बनेको ताल समयको परिवर्तन संगै बिस्तारै सुक्दै गयो र सेतो सिल्टको लेदो थुप्रिएको धाप जमिनमा परिवर्तन हुनपुग्यो |


हाल अर्मलाको घटना पछि त्यहाका सबै जेष्ठ नागरिकहरुले अर्मलाको दुहुनी खोला (नापी विभागले जारी गरेको नक्शामा यसलाई जुम्लेटि खोला लेखिएको छ, चित्र नं ३) क्षेत्रमा पहिले धाप भएको कुरा बताईसक्नु भएको छ | यो चुनढुंगे सिल्ट माटोको धापमा बिस्तारै डांडातिर बाट बगेर आएको पहिरोले ल्याएको ग्राभेल र बालुवा थुप्रिन थाल्यो र माथिल्लो तहमा खेति योग्य माटो पनि जम्मा हुन थाल्यो र अन्तमा अर्मलामा धान खेति शुरु भयो र साथ साथै दुहुनी खोलाको पानी बग्ने बाटोलाइ बिस्तारै धान खेतमा परिवर्तन गरियो | यसको कारणले नजिकैको पहाडको चट्टानका छिद्रहरुमा छिरेर बेसीमा मूल फुटी बग्नु पर्ने पानी दुहुनी खोलाबाट बग्नु पर्नेमा प्राकृतिक रुट नपाए पछि भित्र भित्र बग्न थालेको देखिन्छ | यो प्रक्रियाले अन्तमा दुहुनी खोलामा बग्नु पर्ने पानी भित्र भित्र बाट बगेर कालीखोलाको बगरमा चुनढुंगे सिल्ट माटो को थुप्रो छेडेर बगेको छ | सेतो लेदो पानीले दुहुनी खोला क्षेत्रमा रहेको ग्राभेल तहको मुनि चुनढुंगे सिल्टको तहमा भित्र भित्र पाईपिंग गरि ठुलो दुलो बन्न गएको अर्मलामा देखिएको छ | उक्त सेतो सिल्टको थुप्रो मा सानो दुलो बनेपछि दुलो संगै दुलोको माथिल्लो भाग बिस्तारै अर्धब्रिताकार रुपमा भत्किदै जाने गर्छ र दुलोको माथितिर भ्वांग पर्न थाल्छ (चित्र नं ४) | यस्तो भत्किने प्रकिया गोलाकार रुपमा हुनेगर्छ | यसरि भत्किने प्रक्रिया क्ले र चुनढुंगे सिल्ट माटोमा जहिले पनि देखिन्छ | क्ले र सिल्ट बढी भएको माटोमा पहिरो गएपछि पहिरो गएको सतह धेरै जस्तो अवस्थामा चम्चाले घ्यु कोट्याएको जस्तो देखिने गरेको सबैलाई थाहा भएको कुरा हो | यहि प्रक्रिया अर्मलाको सिल्टको थुप्रोमा परेको दुलोको माथिल्लो भागमा पनि हुनगयो र परिणाम स्वरूप दुलोको साइज माथितिर बढ्दै गयो र भ्वाङ पर्न गयो (चित्र नं ४ग) र अन्तमा माथिल्लो तहको वजनको कारणले ठुला ठुला भकारीको रुपमा भ्वाङहरु भत्किन थालेर यस्ता सिंकहोलहरु (चित्र नं ५) बनेको हो | सिल्ट माटोमा अर्धगोलाकार भत्किने प्रक्रिया हुने कुरा हाल कालीखोलामा पानी निस्किरहेको दुलोको माथिल्लो भागमा सजिलै देख्न सकिन्छ (चित्र नं ६) |




अहिले दुहुनी खोलाको पानी को प्राकृतिक बहाउ लाइ दुरुस्त पार्न खोला बग्ने नया बाटो बनाउने प्रयास गरिएको छ तर यसको गहिराई प्रयाप्त छैन | खनिएको एक ठाउबाट त पानी झनै सिल्ट को भित्रि तह मा छिरिरहेको हामीले देख्न सक्दछौ | यसले समस्यालाई झनै बढाउने देखिन्छ | यदि तत्काल सिंकहोल को समस्या समाधान गर्ने हो भने दुहुनीखोलामा पानीको भित्रि सतह पत्ता लगाएर खोला को नया बहाउ बनाउनु उपयुक्त हुन्छ | तर यो त्यति सजिलो काम होइन यसका लागि मुनितिर पानी बगेको धारहरु पत्ता लगाउनु जरुरि हुन्छ | यस्तो काम भूगर्भविदहरुले (भुगोलविदले होइन) जमिनको भु-भौतिक सर्वेक्षण गरेर अध्ययन गरि गर्न सक्छन | अहिले अर्मलामा नागको थान बनाउने भनेर रकम उठाउनुको भन्दा यस्तो अध्ययन गर्न तत्काल सरकार संग माग गर्नु उचित हुनेछ | हामी आफैले निम्ताएको प्राकृतिक समस्यालाइ भगवानलाइ दोष दिएर भगवान प्रति अन्याय गर्नु भन्दा सम्बन्धित बिशेषज्ञहरु संग जतिसक्दो चाडो जानकारी राख्न जरुरि हुन्छ | त्रिभुवन विश्वबिद्यालय को भूगर्भ बिभागहरु मा यो समस्याको बारेमा जानकार धेरै बिज्ञहरु छन र यो समस्याको समाधान गर्न सक्ने सरकारी निकाय खानी तथा भूगर्भ बिभाग मा पनि जनशक्ति प्रशस्त छ | कास्की जी वि स र अर्मला गा वि स ले अर्मला क्षेत्रको भू-भौतिक अध्ययन गर्नको लागि दृढ संकल्पको साथ सरकार संग माग अघि बढाएमा त्रिभुवन विश्वबिद्यालयको भूगर्भ बिभागहरुले पनि सक्दो सहयोग रहने कुरामा कुनै दुइमत छैन |

अर्मला क्षेत्रमा कुनै पनि हालतमा घरहरु बनाउन हुदैन | चुनढुंगे सिल्ट माटोमा पानी नहुदा यो अति कडा हुन्छ र सजिलै खन्न पनि सकिन्न | अनि यसले बनेको जमिन अति कडा पनि हुन्छ | त्यसैले जनमानसले भुल बस यसलाई बलियो जमिनको रुपमा लिन्छन र घर बनाउने गर्दछन | तर वास्तवमा त्यस्ता घरहरु अन्डा माथि लागेको पातलो तहमा बनाइने घर जस्तो मात्र हुनेछ | अब मानवीय क्षतिलाइ रोक्न तत्काल सिंक होल भएका क्षेत्रमा बस्तिलाइ हटाउन जरुरि छ | पुजा-आजा गरेर, कालो र रातो कपडा चढाएर यो प्राकृतिक प्रकोप रोकिन्न | यहाँ घरहरु बन्न घरको जगको भिन्न किसिमको डिजाइन गरेर मात्र सम्भव छ यसको लागि इन्जिनियरहरुको मद्दत लिनु पर्दछ | यसैगरी, बौदिक समुदायहरुले पनि कम्तिमा यस्तो विषम परिस्थितीको प्राकृतिक प्रकोपको बारेमा आफ्नो व्यवसायिक हैसियत भुलेर भूगर्भविदले मात्र वताउन सक्ने समस्यालाई जथाभावी कमेन्ट नगरिदिए जनसमुदायमा अनावशयक भ्रम पनि सिर्जना हुदैन र संचार माध्यमले पनि गलत कुराको प्रचार प्रसार गर्दैन भन्ने कुरा हामी सबैले बुझ्नु जरुरि छ |

कमेन्ट र सल्लाहको लागि : यहाँ थिच्नुस 

नागरिक न्युज मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

couponcodeshosting