Friday the 22nd - Author: Joomla Templates

Concept of Geopark for sustainable development of Nepalese villages

Ranjan Kumar Dahal, PhD

Department of Geology, Tribhuvan University, Ghantaghar, Kathmandu, Nepal

Please use this information extensively, but I request to acknowledge the source.

For Citation, use this line:

Dahal R.K., 2012, नेपालका गाउँहरुको दिगो विकासको लागि जियोपार्क अवधारणा, published in personal home page www.ranjan.net.np

 

नेपालका गाउँहरुको दिगो विकासको लागि जियोपार्क अवधारणा

डा रन्जन कुमार दाहाल, उप-प्राध्यापक, भुगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौं, नेपाल

 नेपालको भूगर्भिक अवस्थितिलाई सधै विकास निर्माणको नकरात्मक सुचकको रुपमा लिने गरेको हाम्रो ईन्जिनियरिङ सोचलाई परिमार्जित रुपमा अगाडी लग्न सक्ने जियोपार्क अवधारणा एकदमै नयाँ अवधारणा हो । कुनैपनि देशको दिगो विकासमा जटिल भौगर्भिक संरचनाहरु पनि आर्थिक विकासको प्रमुख अंग बन्न सक्छ भन्दा भौगर्भिक अवस्थितिलाई दोष दिदै आधुनिक विकासलाई अपाङग् बनाउन सफल हाम्रो ईन्जिनियरिङ सोचलाई जियोपार्क अवधारणा मार्फत मुल्याकन गर्न अति ढीलो भैसकेको छ । एक अथवा बढी क्षेत्रहरू सामाहित गर्दै भूगर्भ सम्बन्धी महत्वलाई पुरातात्विक, सांस्कृतिक अनि पर्यावरणीय मूल्यहरुका साथ वैज्ञानिक रुपले दर्शाउने क्षेत्रलाई जियोपार्क भनिन्छ । यस्ता भू-वैज्ञानीक क्षेत्रहरुलाई कुनै पनि क्षेत्रको दिगो बिकासका लागि हेरिटेज साईटको रुपमा लिने गरिन्छ । विश्वमा धेरै जियोपार्कहरु छन । यि मुख्यत: यूरोप र चिनमा बढी केन्द्रित छन । सन २००८ को अन्त सम्ममा अठार देशमा जम्मा ५७ विश्व जियोपार्कहरु स्थापना भएका छन । जियोपार्कलाई युनेस्को जियोपार्क, विश्व जियोपार्क र संसार जियोपार्क भनेर पनि चिनिने गर्दछ। विश्व जियोपार्क भन्ने शब्दवली हाल बढी प्रयोगमा रहेको  छ ।

 सन २००४ को जुन २२ तरिखको दिन जियोपार्क सम्बन्धित पहिलो अन्तर्राष्ट्रीय सम्मेलन चिनमा भयो । यो सम्मेलनको प्रमुख अवधारणा पृथ्वी र यसको स्रोतहरुलाई मानवहरुको उत्तम जिवकोपार्जनको निम्ती अन्तर्निहित सुरक्षा जन्य प्रकृयाबाट हाम्रो भौगर्भिक हेरिटेजलाई प्रयोग गरी क्षेत्रीय रुपमा दिगो बिकासको लागि कार्यगर्नु नै रहेको थियो । जियोपार्क अवधारणाले विकासका गतिबिधीहरु जस्तै पर्यावरणीय पर्यटन अनि सिल्प र घरेलु उधोगहरुलाई प्रोत्साहित गर्नु रहेको छ । जियोपार्क सम्बन्धित पहिलो अवधारणा बेइजिङमा सन १९९७ को अन्तर्राष्ट्रीय भूगर्व विज्ञान सम्मेलनमा शुरु भएको थियो । फ्रान्सका Guy Martini र ग्रीसका Nicolas Zouros ले यो अवधारणाको बारेमा कुरा शुरु गरेका थिए ।

 कुनै पनि देशमा जियोपार्क शुरुगर्नलाई सम्बन्धित सरकारले युनेस्कोमा जियोपार्क सम्बन्धित प्रस्ताब बुझाउनु पर्छ । यो प्रस्तवमा किन जियोपार्क बनाउने देखी लिएर सम्बन्धित क्षेत्रका स्थानिय बसिन्दाहरुको जियोपार्कको लागि पूर्ण सहमती र लगातार सहयोगको प्रतिबद्धता झल्किएको हुनुपर्दछ । जियोपार्क राष्ट्रीय निकुन्ज जस्तो होइन । यसमा कुनै पनि क्षेत्रको भौगर्भिक स्रोतहरुलाई त्यस क्षेत्रको बिकासको लागि परिचालन गर्न सकिन्छ । यस अर्थमा हामी स्थानिय बिकासको लागि खानी खोल्ने देखी लिएर फरकिला सडक अनि आधुनिक बिकासका सम्पूर्ण कामहरु गर्न सक्छौ । जियोपार्क अवधारणामा राष्ट्रीय निकुन्ज वा युनेस्कोको विश्व हेरिटेज जस्तो आधुनिक विकासका कार्यहरुलाई यसले नियन्त्रण गर्न चाहदैन, बरु भू-पर्यावरण र भू-विभिन्नताको सही सदुपयोग गर्न उक्साउछ । यहाँ सम्मकी बाढी-पहिरो अनि त्यसले गरेकाक्षतिहरु पनि जियोपार्कको अंग हुन सक्छन् ।

 हाल जापानले पनि आफ्नै जियोपार्क सन्जाल बनाएको छ । यस अन्तर्गर्त क्युशुको शिमाबारा अनि उन्जेन ज्वालामुखि, नीगाताको इतोगावा क्षेत्र र होक्कैडोको तोयो ताल क्षेत्रलाई विश्व जियोपार्कमा राख्न प्रस्ताव गरीएको छ । त्यसैगरी शिकोकुको मुरुतो प्रायद्वीप, चुगोकुको सानीन समुन्द्री तटिय भिर, नागानोको दक्षिण आल्प्स क्षेत्र र होक्कैडोको आपोइ पर्वतलाई जापानको जियोपार्क सन्जालमा रखिएको छ ।

 जियोपार्क सम्बन्धित धारणा हाल आएर विश्वब्यापि हुँदैछ । यस अर्थमा नेपाललाई पनि जियोपार्क धनी देशको रुपमा बिकास गर्नु अत्यन्त जरुरी भएको छ । हिमालयलाई जियोपार्क बनाउने सोच यस क्षेत्रका आदिवासीहरुको दिगो बिकासको प्रमुख एजेन्डा बन्न सक्छ । आफ्नै स्रोत र साधनको प्रयोग गरेर आफ्नै क्षेत्रको बिकास गर्न को चाहदैन र ! यसका लागि केवल स्थानिय जनता र सरकारको दृढ सन्कल्प हुन जरुरी छ । जियोपार्क घोषणा गरे पछी त्यस क्षेत्रलाई हुने फाइदा धेरै थरीको हुनेछ । सर्वप्रथम त, कुनैपनि क्षेत्र जियोपार्क हुनासाथ त्यस क्षेत्रमा रहेका भू-विभिन्नताहरुको बारेमा सुनेर पर्यटकहरु त्यस क्षेत्रको अवलोकन गर्न लालायित हुनेछन् । आन्तरीक र बाह्य दुबै थरीका पर्यटन प्रर्वधन गर्न सकिनेछ । प्रत्येक घर होटेल र हरेक नागरीक पथप्रदर्शक हुन सक्नेछन् । स्थानीय बासिन्दाहरुले त्यस क्षेत्रमा पाईने बनस्पती जन्य स्रोत, खनिज जन्य स्रोत तथा जलस्रोतलाई आफ्नोलागि प्रयोग गर्न पाउनेछन् । त्यस क्षेत्रको आफ्नै ढुंगा खानी, बालुवा खानी र उपलब्ध भए सम्मका अरु खानीहरु पनि हुनेछन । त्यस क्षेत्रमा सडक, स्कुल तथा केबुलकार जस्ता पारियोजना शुरु गर्न आर्थिक सहयोग जुटाउन सजिलो हुनेछ । बैक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्न उचित वातावरण हुनेछ ।

 के-कस्तो अवस्थामा जियोपार्क बनाउन सकिन्छ, यसबारेमा एकछिन चर्चा गरौ । यसका लागि यस लेखमा काली गण्डकी नदीको क्षेत्रलाई एउटा उदाहरणको रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । काली गण्डकी नदी मध्यपश्चिम नेपालको प्रमुख नदी हो । खासगरी यो नदीको बेनी भन्दा उत्तर तिरको भु-भागलाई हिमालयको भू-बैज्ञानिक अध्ययन गर्न अती उत्तम क्षेत्रको रुपमा लिन सकिन्छ । यहाँ लेसर हिमालय, उच्च हिमालय र तिब्बतीयन-टेथीस हिमालयको चट्टानहरुको अध्ययन हामी ३० किलोमिटर भन्दा काम लम्बाईको नदिको वरपर अवलोकन गर्न सक्छौ । त्यसैले, हाल यो क्षेत्रलाई विश्वको प्राकृतिक चमत्कारको क्षेत्रको रुपमा पनि सिफारिस गरीएको छ ।

 काली गण्डकी नदीको मुस्ताङ जिल्लाको कागबेनी देखी म्याग्दी जिल्लाको तातोपानी सम्मको क्षेत्रलाई र कागबेनी देखी उत्तरको लोमाग्थाङ क्षेत्रलाई छुट्टा छुट्टै जिओपार्कको रुपमा बिकास गर्न सकिन्छ । खसगरी कागबेनी देखी तातोपानी सम्मको क्षेत्र अती नै रोमन्चकारी क्षेत्र हो । यहाँ धर्मिक, सामाजिक, भुगर्भिक, पुरातात्विक, जलवायु अनी आदिबासी जनजातीहरुको प्रचुर मात्रमा विभीन्नता पाईन्छ । कागबेनीको गुरुङहरुको रहन-सहन र संस्कृती देखि जोमसोम र टुकुचे अनि लार्जुङ सम्मको थकाली संस्कृती र पुरतात्विक महत्वका धार्मिक अनि सामाजिक संरचनाहरु जियोपार्कको लागि अती नै महत्वपुर्ण धरोहरहरु हुन । साथै, कागबेनी देखि लार्जुङ सम्म रहेको चट्टानहरुको अवस्थितीले पृथ्वीमा चट्टानहरु कसरी बन्छन् भन्ने कुरा प्रत्यक्ष बयान गर्दछ । यस्तैगरी कागबेनी देखी लार्जुङ सम्म अती कम पानी पर्ने क्षेत्र भएकोले काँडेदार बुट्यानहरु प्रमुख बनस्पतीको रुपमा रहेका छन् । यसले उच्च हिमाली भागको बनस्पतीको प्रतिनिधित्व गर्दछ । साथै जोमसोमबाट देखिने दक्षिण तिरको निलगिरी हिमाल अनी टुकुचे र लार्जुङबाट देखिने टुकुचे र धवलागिरि हिमालको सुन्दरताको बयान गरी साध्य छैन । कागबेनीबाट लेते सम्म रहेको काली गण्डकी नदीको फरकिलो बहाउ र ठाउँ ठाउँमा रहेको साँगुरो नदीको खोचले नदीको बग्ने प्रकिया अनी थुपार्ने प्रकिया अवलोकन गर्न पाईन्छ । कोखेठाँटीबाट तिब्बतीयन-टेथीस हिमालयका चट्टानहरु सकिन्छन् र उच्च हिमालयका चट्टानहरु देखिन थाल्छन । यो भागमा दक्षिण तिब्बती दरार प्रणाली (South Tibetan Detachment System, STDS) अवस्थीत छ । लेतेमा रहेको पुरानो भीमकाय पहिरोले काली गण्डकीको बहाउलाई कालान्तर सम्म थुनेर राखेको थियो । यो भीमकाय पहिरो ड्याममा अहिले लेते गाँउ अवस्थित रहेको छ । त्यसैले, लेतेको कालोपानीबाट काली गण्डकी नदी साघुरिएको र अत्यन्त ठाडो बगेको हामी देख्न सक्छौ । यो भीमकाय पहिरो ड्यामले काली गण्डकी नदिलाई धेरै वर्ष सम्म थुनेर राखेको थियो। त्यसैले, लेतेबाट उत्तर झण्डै एक्कलेभट्टी सम्म तालले थुपारेको लेदो (सेडीमेन्ट) ठाउँ ठाउँमा अवलोकन गर्न सकिन्छ । यसैगरी, धवलागिरी र निलगिरीको सिरलाई आधार मानेर हेर्ने हो भने कोखेठाँटी क्षेत्रलाई विश्वको सबै भन्दा गहिरो खोंचको रुपमा लिन सकिन्छ। लेते पछी घासा सम्म आइपुग्दा उच्च हिमाली बनस्पती र शीतोष्ण-समशीतोष्ण बनस्पतीहरुको सिमाना प्रस्ट हुन्छ । घासाबाट दाना सम्म देखिने पुराना पहिरोको साना ठुला ड्यामहरु अनि रुप्से झरना प्रकृतिका आफैमा ऊत्कृष्ट नमुना हुन् । दानामा सारा हिमालयको बनावटमा असर पार्न सफल केन्द्रिय दरार प्रणाली (Main Central Thrust, MCT) ले उच्च हिमालयका चट्टानहरुलाईलेसर हिमालयका चट्टानहरु संग छुट्टाउँछ । यसैले, दानाबाट तलतिर लेसर हिमालयका चट्टानहरुमात्र अवलोकन गर्न सकिन्छ।

 दानाबाट तातोपानी सम्म आइपुग्दा काली गण्डकीको बेग संगै हिडेर पहाडको करालोमा पुराना पहिरो माथी बसेका गाऊ बस्तीहरु हेर्दै तातोपानी कुन्डमा डुब्ने अवसरले जो कोही पनि प्रकृतिसंग आकर्षण हुन्छन । लेतेबाट तातोपानी सम्म आइपुग्दा महशुस गरीने सामाजीक र वाताबरणीय विभिन्नता अति लोभलाग्दो छ । काली गण्डकी नदी क्षेत्रलाई जियोपार्कको रुपमा बिकास गर्न सहयोग पुराउन भुगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसले ट्रेकरर्स गाईड बुक (Himalayan Guide book for Trekkers) पनि प्रकासित गरिएको छ । काली गण्डकी नदी क्षेत्रको केहि प्रकृतिक दृश्यहरु तलका केहि तस्वीरहरुमा चित्रित गर्न खोजिएको छ ।

 नेपालमा काली गण्डकी क्षेत्र बाहेक सगरमाथा क्षेत्र, उत्तरी डोल्पा, बाजुराको पाण्डुसैन-कोल्टी हुदै मुगुको रारा ताल क्षेत्र, रोल्पा-रुकुम-जाजरकोट क्षेत्र, कैलालीको गोदावरी-बुडर-पाटन (बैतडी) क्षेत्र, धनकुटा-हिले-तेह्रथुम क्षेत्र, बाह्रबिसे-कोदारी क्षेत्र, पोखरा-घान्द्रुक क्षेत्र, गोरखाको आरुघाट-लार्के भन्ज्याङ क्षेत्र आदि क्षेत्रहरु जियोपार्कका संभ्भावित क्षेत्रहरु हुन ।

 जियोपार्क बनाउन सरकारी तहमा काम नगरी संभ्भव छैन । साथै, स्थानीयहरुको पूर्ण सहमती र लगातार सहयोगको प्रतिबद्धता पनि हुनुपर्दछ । अर्को कुरा, जियोपार्कको स्थापनार्थ चाहिने आवश्यक पुर्वाधारहरु पनि विकास गर्न त्यतिकै जरुरी छ । जस्तै, जियोपार्क क्षेत्रमा पुग्न कम्तिमा दुईलेनको सुविधा सम्पन्न सडक, बिजुलि, संचार, सुरक्षा आदीको समुचित व्यवस्था हुनु पर्दछ । त्यससंगै निजिक्षेत्रको सहभागितामा जियोपार्क भित्रको प्रमुख क्षेत्रहरुमा केबुलकार, छोटो दुरीको रेलहरु र नदीहरुको क्षेत्र भएमा डुङ्गाहरु निर्माण तथा संचालन गर्न पनि सकिन्छ ।बिजुलिको लागि स्थानियहरुने आफ्नै सहभागितामा जल-विधुत विकास पनि गर्न सक्नेछन् ।

 कुनै पनि परियोजना शुरुहुनु भन्दा अगाडी नै सरोकार समितीको नाममा परियोजनाहरुको आर्थिक शोषण गर्न र परियोजना धरासाही पार्न पल्किएका हाम्रो गाउँघरमा रहेका भिजिलान्तेहरु र तिनिहरुलाई उकेरा लगाउने शहरी राष्ट्रीय तथा अन्तराष्ट्रीय गैर-सरकारी संस्थाहरु रहुन्जेलजियोपार्क अवधारणालाई मुर्त रुप दिन नेपालमा प्रसस्त समस्याहरु त पक्कै छन्, तर ईमान्दार भएर काम गर्ने हो भने नसकिने पक्कै होईन । मुख्यत: स्थानीयहरु पुर्णरुपमा शिक्षित हुनु पनि जरुरी हुन्छ ताकि शिक्षा विना जियोपार्कको अवधारणा बुझ्न संम्भव छैन र शिक्षित व्यक्तिहरु भिजिलान्तेहरु र गैर-सरकारी संस्थाहरुको बहकाउमा आउने संम्भावना पनि कम हुन्छ । आफ्नो समाज र देश प्रति ईमान्दारस्थानीय नागरीकहरुले त्यस्ता तत्त्वहरुबाट आफ्नो गाउँलाई टाढा राखी काम गर्नु उचित हुन्छ । त्यस्ता स्थानीय नागरीकहरुलाई जियोपार्क स्थापनार्थ संम्बन्धित विषेशज्ञले पक्कै सहयोग गर्नेछन् । यसैगरी, सरकारले पनि जियोपार्क अवधारणालाई सहर्ष स्विकारेर तत्काल आवश्यक कानुन तर्जुमा गरी जियोपार्क अवधारणालाई देशब्यापी बानाउनु पर्दछ । साथै राष्ट्रीय रुपमा स्थापना भएका जियोपार्कहरुलाई युनेस्को विश्व जियोपार्क संजालमा राख्न सम्पुर्ण सहयोग पनि गर्नुपर्दछ । आशा गरौ, हामीले पनि कुनै दिन नेपाली जियोपार्कहरुको भ्रमण गर्न पाउने छौ ।

चित्र: क) कागबेनीको मनमोहक दृश्य, ख) कागबेनीबाट जोमसोम तिर लाग्दा देखीने चट्टानहरुको अवस्थिती, ग) टुकुचे गाँउ र काली गण्डकी नदीको फराकिलो बहाउ, घ) लेते गाँउ जहाँ पुरानो भीमकाय पहिरोले काली गण्डकीको बहाउलाई कालान्तर सम्म थुनेर राखेको थियो (स्रोत:ट्रेकरर्स गाईड बुक), ङ) लेते भन्दा तल काली गण्डकी नदी साघुरिएको र अत्यन्त बहाउमा ठाडो बगेको दृश्य, च) तातोपानी गाँउमा सन् १९९८ मा बनेको पहिरो ड्याम, छ) तातोपानी तलतिर साँगुरो गल्छीमा बगेको काली गण्डकी नदी, ज) रुप्से झरना, झ) तातोपानीको कुन्ड भएको ठाउँ ।

couponcodeshosting