Monday the 20th - Author: Joomla Templates

Large-scale landslide in Nepal

Ranjan Kumar Dahal, PhD

Department of Geology, Tribhuvan University, Ghantaghar, Kathmandu, Nepal

Please use this information extensively, but I request to acknowledge the source.

For Citation, use this line:

Dahal R.K., 2013, नेपालमा भीमकाय पहिरोहरु - a report published in www.ranjan.net.np

कमेन्ट र सल्लाहको लागि : This email address is being protected from spambots. You need JavaScript enabled to view it.

अन्नपुर्ण पोस्ट मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

नेपालमा भीमकाय पहिरोहरु 

डा रन्जन कुमार दाहाल, सह-प्राध्यापक, भुगर्भ विभागत्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पसघण्टाघरकाठमाडौंनेपाल

माघको चिसोमा पहिरोको कुरा आफैमा अचम्म पर्ने कुरा भए पनि पाल्पामा खेतका गह्राहरु भासिएको खबरले हिउदमा पनि पहिरो को कुराहरु गर्न जरुरि भएको ठानी केहि कुरा आम-जनमानस को जानकारीको लागि प्रस्तुत गर्ने जमर्को गरिएको छ |

भू-विज्ञानमा कुनै पनि ठाउमा माटो र चट्टान पहाडको माथिल्लो भागबाट तल्लो भागमा बग्छ भने हामी त्यसलाई पहिरो भन्ने गर्छौ | हाम्रो नेपालमा चाही बर्षाको समयमा माटो र ढुंगा बगेर भत्किने प्रक्रियालाई पहिरो भनेर चिनाईने गरेको छ | तर वास्तवमा भन्ने हो भने हालै गरिएको अध्ययन र अनुसन्धानबाट हाम्रो नेपालका पहाडी संरचनामा पहिरोको महत्वपूर्ण भूमिका छ भन्ने कुरा धेरै हद सम्म बुझ्न सकिएको छ | हाम्रा गाउहरु पहाडको बेशीमा त हुने नै भए तर पहाडको मध्य भागमा गाउ मात्र नभएर नेपालमा शहर नै बसेको पनि पाईएको छ | पहाडको बीच भागमा सम्म जामिन बन्नु भौगोलिक रुपमा आफैमा एउटा रहस्यमय कुरा हो | तर यस्ता पहाडको बिचमा रहेको जमिनको अध्ययनबाट बुझिएको छ कि हाम्रा धेरै गाउहरु त धेरै पुराना भीमकाय पहिरोमा पो बसेका रहेछन | पुराना यस्ता पहिरोहरु भएको जमिन हिमालयमा हाम्रो नेपालको मध्य भागमा पुर्व मेची देखि पश्चिम महाकाली सम्म पाइने गरेको छ | भारतको उत्तराखण्ड, सिक्किम र भुटान मा समेत यस्ता पहिरो हरु प्रसस्त छन | भारतको पिथौरागढ र सिक्किम को गान्तोक अनि नेपालको तानसेन र फिदिम अति नै ठुला भीमकाय पहिरोले गर्दा बनेका भू-भाग अन्तरगत पर्दछन | नेपालको उत्तर पट्टि को उच्च हिमाली भागमा पनि यस्ता पहिरो हरु छन तर उचाईको कारणले हामी त्यहाँ बस्दैनौ र हामीले त्यहाँ हुने पहिरोको प्रकोप लाइ वास्ता पनि गर्दैनौ | यस्ता भीमकाय पहिरो हरु बिस्तारै बग्ने र पटक्कै नबग्ने गरि दुइ किसिमका हुन्छन | मुख्यत पहाडको फेद मा ठुलोनदीले फेदलाइ काटी रहेको छ भने यस्तो भीमकाय पहिरो बिस्तारै बग्ने गर्छ र बगी रहन्छ | नबग्ने पहिरोहरुमा प्रसस्त पानी भएमा बिस्तारै ठाउ ठाउबाट बग्ने गर्छ | बन्दीपोखरा पाल्पामा यस्तै भएको छ |

हाम्रो गाउहरु र त्यहाँ बनेको बाटोघाटो अनि खोल्चोमा बग्ने डेब्रिस अथवा माटो र चट्टानको भेल पहिरो, र साना साना पहिरो हरु कसरि रहेका छन भन्ने कुरा यहाँ प्रस्तुत गरिएको चित्रबाट बुझ्न सकिन्छ | मुग्लिंग-नारायणघाट सडकमा २००३ सालमा भएको पहिरो र भेल पहिरोको बाढीको प्रकोपको कारण पत्ता लगाउने सिलसिलामा बर्षाको समयमा बग्ने गरेको पहिरो त धेरै हद सम्म ठुला ठुला भीमकाय पहिरोमा जाने गर्दो रहेछ भन्ने कुरा बुझिएको छ | हामी सबैलाई थाहा छ, पहाडको बिचमा रहेको हाम्रो गाउमा कान्लाहरु र गह्राहरुमा प्रसस्त माटो पाइन्छ | यो माटो र साना साना चट्टानका टुक्राहरु हुन्छन | यो सबै बिस्तारै बगिरहेको भीमकाय पहिरोले थुपारेको ढुंगा-माटो को थुप्रो हो |

नेपाली बस्ति र भीमकाय पहिरोको कुरा गर्नुपर्दा पाल्पाको तानसेन पनि यस्तै धेरै पुरानो भीमकाय पहिरोको थाप्लोमा बसेको शहर हो ! बन्दिपोखरा क्षेत्र पनि त्यही पुरानो भीमकाय पहिरोको थाप्लोमा नै बसेको छ | यस्ता पुरानो भीमकाय पहिरोको थाप्लामा बसेका बस्तिहरु खतरनाक अवस्थामा छन भन्नु भन्दा पनि त्यहाँ प्राकृतिक रुपले बर्षौ देखि स्थिर हुदै गरेको गरेको जमिनमा यदि हामीहरुले आफु खुशी सिचाई गर्ने र पानीको व्यवस्थापन राम्ररी नगर्ने गरेमा बन्दीपोखरा को जस्तो जमिन भासिने प्रकृतिको पहिरो जाने गर्दछ | यस्तो पहिरो पुरै नबगी बार्षिक रुपले अलि अलि बगेर बसिदिन्छ, फलस्वरूप न जमिनको सहि प्रयोग गर्न सकिन्छ, न प्रकोप बाट भाग्न नै सकिन्छ | गोर्खा जिल्लाको लाप्राक गाउको पहिरो यस्तै समस्या भएको पहिरो हो जहाँ अझै पनि सयौ जना पहिरो मै बसीरहनु भएको छ |

नेपालमा यस्ता पहिरो को बारेमा त्यति जानकारी राख्ने गरिएको छैन र साथै यस्ता पहिरो चिन्ने बिज्ञ पनि हामीकहाँ कम छन | हामी त केवल वर्षाको बेलामा बग्ने पहिरो लाइ मात्र महत्व दिने गर्दछौ, तर यस्तो भीमकाय पहिरोको राम्रो चर्चा जापानी भूगर्भविदहरुले धेरै पहिले देखि गरेका थिए र अहिले तिनै जापानी प्राध्यापकहरुको सहयोगमा नेपालमा केहि अध्ययन र अनुसन्धान पनि शुरु गरिएको छ | हाल काठमाडौँ र आसपासको क्षेत्रमा मुख्य रुपमा ध्यान दिएर अध्ययन गर्न थालिएको छ | किनकी हामी काठमाडौँ लाइ तराई संग जोड्ने द्रुत मार्गको रेखांकन गर्न थालेका छौ अनि हेटौडा जोड्ने सुरंग मार्ग सहितको द्रुत मार्ग निर्माणमै लागि सकेका छौ | हेर्दा पहाडमा चट्टान छ, सुरुंग मार्ग बनाउन सकिन्छ भनेर हामीलाई लागे पनि त्यो पहाडको देखिएको चट्टाने अनुहार भित्र धेरै रहस्यमय भौगर्भिक समस्या हरु देखिन सक्छ | सुरुंग खन्दा हाम्रो देशमा यस्ता बिस्तारै बग्ने पुरानो भीमकाय पहिरोको भित्रि भागको र पहाडको मुख्य भागको जोरन (पुरानो भीमकाय पहिरो चिप्लिएको भाग) मा टुक्रिएका चट्टान र क्ले माटो भेटिन्छ र सुरुंग भित्र त्यो ठाउँ अति नै समस्या भएको भागको रुपमा चिनिन्छ | नेपालमा जलबिधुत योजनाको सुरुंग भित्र यस्ता खराब भाग हरु भेटिएका छन र हामी त्यसलाई चट्टानमा हुने दरार (फल्ट) को रुपमा लिने गर्दछौ, तर अहिले को अध्ययन बाट बुझे बमोजिम त्यो धेरै हद सम्म बिस्तारै बगिरहेको पुरानो भीमकाय पहिरो र पहाडको मुख्य भागको जोरन परेको भाग हो | यस्ता जोरनहरु बाट पानी पनि प्रसस्त बग्न सक्ने भएकोले सुरुंग खन्दा भित्र अति नै समस्या हुन् जान्छ र बचाऊको लागि हामीलाई प्रसस्त धनराशीको आवश्यकता पर्छ |

काठमाडौँ वरपर रहेका पुरानो भीमकाय पहिरोहरुको कुरा गर्दा मुख्य रुपमा काठमाडौँको दक्षिण पट्टि रहेको छैमले गाउलाई लिन सकिन्छ, छैमले गाउ पुरै पुरानो भीमकाय पहिरोमा बसेको गाउ हो र त्यहाँ प्रसस्त मात्रामा माटोको तह पाइन्छ जसको फलस्वरूप त्यहाँ नासपाती र अरु फलफूलका रुखहरु राम्ररी हुर्किएका छन | यसैले पुरानो भीमकाय पहिरोले हाम्रो जीवन स्तर उकास्न ठुलो मद्दत गरेको छ किनकी पुरानो भीमकाय पहिरो भएको ठाउँमा उब्जाउ जमिन हुन्छ र हामी प्रसस्त खेति गर्न सक्छौ | पहाडको बिचमा अलि सम्म परेको जमिन हुदा बस्ति बस्न सजिलो हुन्छ | तर, त्यही ठाउमा हाम्रो सानो गल्ति ले गर्दा हामीलाई पुरानो भीमकाय पहिरोले ठुलो सजाय पनि दिने गरेको छ | यसको पछिल्लो उदाहरण पाल्पा को बन्दिपोखरा को जमिन भासिने प्रक्रियालाइ लिन सकिन्छ |

अध्ययन र अनुसन्धानबाट बुझे अनुरुप भीमफेदीको उत्तर पट्टि पनि यस्ता पुरानो भीमकाय पहिरोहरु रहेको देखिएको छ | यसैले यस्तो ठाउमा सडक वा सुरुंग खन्दा कस्तो समस्या हुनसक्छ भन्ने कुराको हामी सजिलै अनुमान लगाउन सक्छौ | सडक वा सुरुंग खन्नु अगाडी राम्ररी अध्ययन गराएर मात्र हामीले निर्माण शुरु गर्न सकेमा पछी हुने करोडौको क्षति रोक्न सकिन्छ र दिगो संरचना निर्माण गर्न सकिन्छ |

 

सन् २००३ मा मुग्लिंग-नारायणघाट सडक पहिरो र भेल पहिरो ले ध्वस्त बनाउनु मुख्य कारण पुरानो भीमकाय पहिरो जताततै भएर नै हो भन्ने कुरा अध्ययनबाट देखिएको छ | मुग्लिंग-नारायणघाट सडकको झन्डै ६०% भाग पुरानो भीमकाय पहिरोको फेद बाट गएको कुरा अध्ययनले बताएको छ | पृथ्वी राजमार्गको कुरिनटार-मुग्लिंग क्षेत्रमा सडकहरु ठाउँ ठाउँमा भासिएको हामीले अनुभव गरेका छौ | यो सबै बिस्तारै बगिरहेको पुरानो भीमकाय पहिरोको कारणले भएको कुरा हामी सबैले बुझ्नु जरुरि भै-सकेको छ | यहाँ सम्मकि कुरिनटार मा रहेको केवलकारको संरचनाको माथितिरको जमिन पनि बिस्तारै बगिरहेको भीमकाय पहिरो भएको जमिन हो | त्यहाँ केबलकार स्टेशन सम्म जाने बाटोमा र पेटीमा कहिले कहिँ हामीले मसिना धाजा फाटेको देख्ने गरेका थियौ | तर त्यस क्षेत्रको संरक्षण गर्न सम्बन्धित निकायले रामरी ध्यान दिएकोले केबलकार स्टेशन सुरक्षित भएको हो | पुरानो भीमकाय पहिरोमा प्रसस्त पानी परेको खण्डमा कम्जोर धरातलको कारण नया पहिरो बग्ने सम्भावना अति नै बढी हुन्छ र यस्ता जमिन भएको ठाउमा भेल पहिरो पनि त्यतिकै सजिलो संग बगेर आउने गरेको पाइन्छ |

अब एक छिन हाम्रा पहाडमा यस्ता अति बिस्तारै बग्ने भीमकाय पहिरो किन र कसरि बन्यो भन्ने कुराको चर्चा गरौ | भीमकाय पहिरो हाम्रो हिमालयमा गएका अति ठुला भुइचालोका परिणाम हुन् | हजारौ बर्ष देखि यस्ता भुइचालो हाम्रो हिमालय क्षेत्रमा गएको छ र यसले जमिन उथल पुथल परेको छ | यो भुइचालो को मापन र यसको क्षमता हामी हरुले हाल सम्म थाहा पाएका भुइचालो भन्दा अति नै बढी भएको कुरा इन्जिनियरिंग भूगर्भविदहरु बिश्वास गर्छन | तर कति ठुलो भन्ने कुरा भन्न चाही सजिलो छैन | यस्तो ठुलो भुइचालोहरु सन् २००८ मा चीनको सिचुवान प्रान्तमा गएको महाभूकम्प जस्तै थियो | चीनमा त्यो भुइचालोले पहाड हरु सम्म परेको जमिन बनेको कुरा अझै पनि हामीले त्यहा गएर हेर्न सक्छौ | पहाडको फेदमा रहेको स्कुल र सानो शहर पुरा पहाड भत्किएर पुरिएको त्यहा हेर्न सकिन्छ | नदि हरु थुनिएर ताल परेका अनि ति तालहरु फुटेर तल्लो तटका नगर र गाउ ध्वस्त भएको हामी सिचुवानमा अहिले पनि हेर्न सक्छौ | नेपालमा पनि भीमकाय पहिरोले गर्दा बनेका तालहरु छन | मुगुको रारा ताल र डोल्पाको से-फोक्सुडो ताल यसका उदाहरण हुन | यसैले रारा तालको पानीको निकास भएको ठाउँ र गमगढीको माथिल्लो भेगमा राराको पानी थुनेर राखेको पुरानो भीमकाय पहिरोको थुप्रोको राम्ररी भुगर्भिक हेरचाह गर्नु अति जरुरि छ | यसै गरि भीमकाय पहिरोले गर्दा नदि हरु बर्षौ सम्म थुनिएर रहेका उदाहरण नेपालमा छन, दोलखाको लामाबगर मा माथिल्लो तामाकोशी जलबिधुत परियोजना भीमकाय पहिरोले तामाकोशी नदि थुनिएको ठाउँ मै बनाइएको छ | त्यसतै गरि मुस्तांग को लेते मा कालिगण्डकी नदि थुनिएको पनि धवलागिरी पर्वतमालाबाट कुनै महाभूकम्पको समयमा झरेको भीमकाय पहिरोले गर्दा नै हो | अहिले लेते को पहिरोले थुनेको ठाउमा जलबिधुत आयोजना बन्दैछ | मनांग जिल्लामा त ताल भन्ने गाउ नै छ | यो पनि भीमकाय पहिरोले नदि थुनेको ठाउ हो | यी सबै भीमकाय पहिरोको कारणले भएका फाइदाको उदाहरण हुन् | जापानमा यस्ता ठुला ठुला भीमकाय पहिरोको अध्ययन गरेर त्यसको उमेर पत्ता लगाएर त्यसको कारक भुइचालोको बारेमा पनि पत्ता लगाएका छन |  जापानमा १००० वर्ष देखि ८००० बर्ष सम्मका यस्ता भीमकाय पहिरो हरुको अध्ययन गर्न थालिएको छ | जापानमा पनि हाम्रो जस्तै पहिरोमा नै गाउ र बस्ति बसेको छ र त्यहाँ पनि पाल्पाको बन्दीपोखराको जस्तो जमिन भासिने क्रम भैरहन्छ | यसैले जापानी सरकारले इन्जिनियरिंग भूगर्भविदहरुलाइ यस्तो पहिरो हरुको अध्ययन गर्न लगाउदै त्यस क्षेत्रका जनतालाइ प्राकृतिक प्रकोप बाट सुरक्षित राख्न भरमग्दुर प्रयास गरि रहेको छ |  

 

अब हाम्रो नेपालमा पनि भीमकाय पहिरोहरुको अध्ययन गर्न ढिलो गर्न नहुने पाल्पाको बन्दिपोखराको घटनाले हामीलाई खबरदारी गरि सकेको छ | साथै हाल शुरु गरिएको काठमाडौँ हेटौडा सुरुंग मार्ग सहित को सडक आयोजनाले अनि निकट भविष्यमा शुरु गर्न लागिएको काठमाडौँ निजगढ द्रुतमार्ग योजनाहरुले रुटमा पर्ने भीमकाय पहिरोहरुको बारेमा ख्याल गर्नुपर्ने कुरा जरुरि भएको छ | द्रुतमार्ग र सुरुंग मार्गमा नेपालमा गरिने उही पुरानो ढर्राको भूगर्भीय अध्ययनले अब काम चल्दैन, पहिले हामीकहाँ पहाडको भिरलाइ मुलाको बोक्रा तासे जस्तो गरेर सडक बनाउने चलन थियो, तर अब त पहाड लाइ काटेर सडक बनाउनु पर्ने भएको छ | के हामीले द्रुतमार्ग र सुरुंग मार्ग निर्माण गर्न चट्टान भएको तर भीमकाय पहिरोले बनेका हाम्रा पहाडहरु काटेर बिशाल कट स्लोप (सडकको लागि काटिने पहाडको भाग) बनाउन सक्ने गरि भुगर्भिक अध्ययन गराएका छौ त ? फेरी एक पटक सोचौ र करोडौको खतिलाइ जोगाउ !!

 पाल्पाको बन्दीपोखरामा देखिएको पहिरो !!

 

couponcodeshosting