Saturday the 27th - Author: Joomla Templates

Why flash flood in the Seti River in the month of Baishakh?

Ranjan Kumar Dahal, PhD

Department of Geology, Tribhuvan University, Ghantaghar, Kathmandu, Nepal

Please use this information extensively, but I request to acknowledge the source.

For Citation, use this line:

Dahal R.K., 2012, बैशाख महिनामा सेती नदीमा बाढी किन आयो ? - a report published in www.ranjan.net.np.

कमेन्ट र सल्लाहको लागि : यहाँ थिच्नुस

अंग्रेजीमा पढ्नको लागि : यहाँ थिच्नुस

नागरिक न्युज मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

बैशाख महिनामा सेती नदीमा बाढी किन आयो?

डा रन्जन कुमार दाहाल, सह-प्राध्यापक, भुगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौं, नेपाल

(Updated for triggering mechanism on 2012/5/27)

यही २०६९ साल बैशाख २३ गते शनिबारको दिन पोखराको सेती नदीमा हामीहरुलाई सम्झना भए सम्म कै अति खतरनाक बाढी किन र कसरि आयो भनेर धेरै अड्कल बाजीहरु गरियो | हुनपनि यो समस्याको जड पत्ता लगाउनु धेरै गार्हो कुरा हो | यी सबै अड्कल बाजीहरु को माझ हामी तीन जनाको (म र मेरा मित्रहरु, जापानको एहिमे विश्व विद्यालयका उप-प्राध्यापक डा. नेत्र प्रकाश भण्डारी र प्राध्यापक डा. मित्सु ओकामुरा) समुह सेती बाढीको कारण आफैले बुझ्न यहि जेष्ठ ५ गते बन्दै-बन्दै को नेपालमा काठमान्डौबाट पोखराको एरपोर्ट पुग्यौं | जेठ को महिना मा पोखरामा हिमाललाई बादल र तुवाँलोले सधैँ छोपेर राख्ने कुरा हामीलाई थाहा थियो | जेष्ठ ५ गतेको नेपाल बन्दको दिन हामी बिहानै पोखरा पुगेका थियौ | त्यसैले बादलले ढाकिएको सेती मुहान र अन्नपुर्ण तिर हेर्दै बन्दको बिचमा जापानिज साथीलाई पर्यटक बनाएर र हामी "इन्डियन पर्यटक" हुदै पर्यटक गाडी मा खारपानी पुगेका थियौ | खारपानीको सेतीको विधवंस प्रत्यक्ष देखेपछी, अनि प्रत्यक्षदर्शीको कुरा सुने पछी र "बाढी आयो रे!! भागेर माथि डाँडामा जाऊ" भन्दा "बैशाख मा पनि कहिँ बाढी आउछ र?" भनेर भाग्न नमान्ने प्रत्यक्षदर्शीका छिमेकीहरु क्षण भरमा बगेको सुन्दा हामीले यो सेती को बाढी धेरै नै खतनाक थियो भनेर सजिलै अनुमान लगायौ | त्यस्तैगरी बचाऊ कार्यमा लाग्नुभएका नेपाल आर्मीका लेफ्टिनेन्ट र ससस्त्र प्रहरीका इन्स्पेक्टर संग को कुराकानीबाट थाहा भएअनुसार बगेका मान्छेहरुको टुक्रिएका लाशहरुको खोजि आफैमा कति कठिन थियो सहजै अनुमान लगाउन सकिन्छ |

सेती नदीको यो विकराल रुप बैशाख २३ गते मात्र नभएर पहिले-पहिले धेरै पटक भएको कुरा हामी जस्ता भूगर्भ विज्ञानका अनुसन्धानकर्ताहरुलाई पोखराको वरिपरी रहेका सेती नदीका खोच र टारहरुको अध्ययन बाट सजिलै थाहा हुन्छ | विभिन्न अध्ययनहरुबाट थाहा भए अनुसार सेतीमा विकराल बाढी आउने क्रम आजभन्दा आठ-दश हजार बर्ष अघि देखि नै भैरहेको थियो | त्यही बाढीले थुपारेका गिट्टी र बालुवा अनि सिल्ट को थुप्रोमा बनेको पोखरामा सेती नदीले खार्दै लगेको हुनाले हामी सार्दीखोला, घाचोक र भुजुंग खोला गाउहरुमा सेतीको दाया र बाया ठाडा भिर हरु सहितको टार हरु देख्न सक्छौ | यस्ता टारहरु तनहुको कोत्रे सम्म देख्न सकिन्छ | यी टारहरु बन्न सेतीले अन्नपुर्ण हिमालको विशाल खाल्डो (Annapurna Greater Depression) बाट प्रसस्त सेडीमेन्ट (ग्रेगर र सिल्ट) पोखरामा ल्याएको छ | हामीहरुले सम्झिने र रेकर्डमा राख्न पाउने गरि आएको बाढी बैशाख २३ को बाढी मात्र हुनगएको छ | तर यो बाढी पोखरामा धेरै सानो आएको हो र पहिले-पहिले यसको संयौ गुणा ठुलो बाढी सेती नदीमा आएको थियो भन्ने कुरा हामीले बुझ्नु पर्दछ | सेतीको ठुलो बाढीको कारणले गर्दा हर्पन खोला थुनिएर फेवाताल बनेको कुरा हामीहरुले कहिले बिर्सिनु हुदैन |

जेठ ६ गते बिहानै एभिया क्लब नेपाल प्रा. लि. को सधै हिमाल अवलोकनलाई प्रयोग गरिने सानो फिक्स्ड विंग जहाजलाई (नेपाली भाषामा "गाइने-किरो" भन्दा हुने) अन्नपुर्ण हिमालको काखमा लगेर सेतीको मुहान अवलोकन गराईदिन अनुरोध ग-यौ | मेनेजेर प्रबिन गौचनले हामीलाई यसका लागी पर्याप्त सहयोग गर्नु भयो | यसैगरि रशियन पाइलट अलेक्जेन्डर माक्सिमोभले हामीलाई उहाँले देख्नुभएको हिम पहिरो को बारेमा बताउनु भयो | जेष्ठ ६ गते बिहान ६.१५ बाट हाम्रो फिक्स्ड विंग जहाज "गाइने-किरो" को यात्रा शुरु भएको थियो | सेती को किनारै किनार मात्र उडाउन अनुरोध गरे अनुसार "गाइने-किरो" लाई पाइलटले सके सम्म फोटो र भिडियो खिच्न मिल्ने गरि उडाईदिनु भयो | सधैं बादलले ढाक्ने सेती खोंच मा जेठ ५ गते बेलुकाको मुशल्धारे पानी ले सफा बनाई दिएको जेठ ६ गते बिहान अन्नपुर्ण हिम श्रृंखलाहरु मध्ये शुरुमा माछापुर्छ्रे लाई अति नै नजिक बाट नियाल्दै "गाइने-किरो" अन्नपुर्ण हिमाल को विशाल खाल्डोमा छिर्यो | त्यहा अन्नपुर्ण हिम श्रृंखलाको कडा चट्टान को माथि परापूर्व कालमा हिमनदीले हिमतालमा थुपारेको सिल्ट र ग्रेगर मिसिएको सेडीमेंटको थुप्रो भूक्षयबाट अभूतपुर्व रुपले स-साना पहाडहरु बनेको देखियो | यो धमिलो रंगको सिल्ट लाई भूगर्भको भाषामा हिमनदीको पिठो (glacial flour) पनि भनिन्छ | बरफको टोपी लगाएका ती हिमनदीको पिठोको पहाडहरुको रंग धमिलो सेतो थियो भने त्यसको टाकुराहरुमा रहेको बरफ पग्लदै गर्दा बगेको पानीले भू-क्षय गरेको हुनाले ति पहाडहरु धारिलो भएर रहेको भेटियो | जताततै बाट काटिएको यी स-साना थुम्काहरु हेर्दा जोमसोम, कागबेनी र माथिल्लो मुस्तांग तिर देखिने तालको सेडीमेंटहरु ले बनेको जमिन र पहाड जस्तै लाग्यो | यो अन्नपुर्ण हिम श्रृंखलाको यो विशाल खाल्डो क्षेत्रमा पैदल यात्राबाट पुग्न असम्भव भएको हुदा हालसम्म पनि भूगर्भविद्हरूले हिमनदीको पिठो र त्यसले बनाएका पहाडहरु को विस्तृत अध्ययन गर्न पाएका छैनन् | तर यो पटक को हाम्रो अध्ययनले सेतीको पानी किन सधैँ दुधिलो हुने गरेको छ भन्ने कुराको पनि सप्रमाण जानकारी पाएको छ | अन्नपुर्ण हिम श्रृंखलामा रहेको सेती को मुहानमा रहेको हिमनदीहरु पग्लदै यहि पुरानो हिमतालमा हिम नदीले थुपारेको धमिलो सेतो रंगको सिल्ट (हिमनदीको पिठो) र ग्रेगर मिसिएको सेडीमेंटहरुबाट बग्दो रहेछ र एकैचोटी २८०० मिटर को खोचमा झरना भएर खस्दो रहेछ | यसले गर्दा सेती नदीको पानी को रंग सधैँ धमिलो सेतो वा दुधिलो र अनि नदि बगेको चेनल धमिलो पानी ले काट्दै लगेर गहिरिदै गएको छ | यसरी धमिलिएको सेतीका विभिन्न धारहरु झरना भएर बगिरहेको देखियो र त्यस क्षेत्रमा अत्यधिक भु-क्षय भएको र कडा चट्टानमा बगेको नदी पनि गहिरिन गएर खोंच परेको हुनाले सेती को मुहानमा हिडेर जान नसकिने भएको हो भन्ने कुरा पनि यो अध्ययनले बुझियो |

अन्नपुर्ण चौथोको बिच भाग बाट शुरु भएको हिम पहिरोलाई पाइलटले बैशाख २३ गते बिहान देखेको ठाउँ देखाईदिनु भयो | त्यहाँ हिम पहिरोले अन्नपुर्ण चौथो को फेदमा रहेको पुरानो हिम तालको सेडीमेंट अथवा सिल्ट (हिमनदीको पिठो) र ग्रेगर सोरेर लिएर गएको अनि तलतिर सेतीको खोचमा खसालेको (फोटो न. १ र २ हेर्नुस) प्रष्ट सित देख्न सकिएको थियो | पाइलट अलेक्जेन्डर माक्सिमोभले उक्त पहिरो बैशाख २३ गते को बिहान ८.५५ तिरको समयमा देखेको बताएका छन | बैशाख २३ गते को बिहान ९ बजे अगाडी को त्यो हिम पहिरो झन्डै ६००० मिटर को उचाई बाट एकै चोटी २८०० मिटरको उचाइमा बाटोमा रहेको पुरानो हिमतालले थुपारेको धमिलो सेतो रंगको हिमनदीको पिठो र ग्रेगर मिसिएको सेडीमेंटहरुलाई सोहोर्दै हिम झरनाको रुपमा सेतीको प्रवाह मा आइपुगेको प्रस्ट रुपमा देखिएको थियो (फोटो न. ३ मा हेर्नुस) | यसरी बगेको हिम पहिरोको लेदो (डेब्रिस) मा हिउ, बाटोमा रहेको बरफ, पानी र धमिलो सेतो रंगको हिमनदीको पिठो र ग्रेगर का साथै फेदीमा रहेका सल्लाका रुखहरु पनि थिए | यो डेब्रिसमा रहेको हिउ कम तापक्रमको पानी संग मिसिएर २८०० मिटर को उचाइमा माटो र ग्रेगर संग मिसिएर झर्दा पग्लिएर सेतीमा बाढीको रुप लिएको हो | त्यसैले अति नै भिरालो सेतीको बहाउमा पग्लिएको हिउ, पग्लिएको बरफ, पानी र धमिलो सेतो रंगको सिल्ट माटो, ग्रेगर र रुखहरु २८०० मिटर को उचाइबाट तत्काल बेगका साथ बग्न थालेको हुनाले सेतीमा ठुलो बाढीको सिर्जना भयो | बैशाख २३ को ९.०० बजे तिर बिहान सेतीमा बाढी शुरु भएको थियो र यसले खारपानी बजारमा क्षति पुराउदा बिहान ९.३८ बजेको पिकनिक गएका विध्यार्थी भाइको फोटोमा देखिएको सबैलाई थाहै छ | साधारणतया: ठाडो नदिहरुमा डेब्रिस बग्ने प्रक्रिया ३० देखि ४० कि मी प्रति घण्टा को रफ्तारमा हुने गर्छ | सेतीको माथिल्लो भागमा ८ देखि १० डिग्री सम्मको ओरालो बहाउ छ र हिम पहिरोको डेब्रिस सेती नदीको २८०० मिटरको खोचमा आइपुगेपछि खारपानी सम्म आइपुग्न लगभग ४० मिनेट जति लागेको देखिन्छ | शुरुमा हिउ-पानी र पछि पानीमात्र र सिल्ट सहितको ग्रेगर अनि रुखहरुको लेदो (डेब्रिस) को रुपमा बगेको सेतीको बाढीलाई जम्मा २० किमी को उक्त दुरी पारगर्न ४० मिनेट लाग्नु स्वभाविक देखिएको छ | त्यसै गरि झन्डै आठ पटक सम्म सेतीमा बाढीको भेल आएको कुरा रेकर्ड गरिएको छ | यसको कारण २८०० मिटर को खोचमा सबै हिउ र सिल्ट को लेदो एकै पटक खस्न सक्दैन थियो किनकि खोचको चौडाई ३० देखी ५० मिटर मात्र छ | त्यसैले शुरुमा धेरै र पछी अलि अलि गरेर अड्किएको हिम पहिरो को लेदो बग्न थालेको हुनु पर्छ | साथै, हिउ पहिरो संगै झरेका बरफ का टुक्राहरु एकै चोटी पग्लन पनि सक्दैनन | यसैकारणले गर्दा ठुलो बाढी पछी स-सानो बाढी आएको हो |



फोटो न. १ : हिम पहिरो गएको ठाउँ र बगेको दिशा, फोटो अन्नपुर्ण चौथोलाई पच्चिम बाट हेरेर पुर्व तर्फ लिइएको हो |



फोटो न. २ : हिम पहिरो र डेब्रिस खसेको सेतीको २८०० मिटर उचाइमा रहेको खोंच, यो फोटो उत्तर बाट दक्षिण तर्फ खिचिएको हो |

फोटो न. ३ : हिम पहिरो र डेब्रिस खसेको सेतीको २८०० मिटर उचाइमा रहेको खोंच, यो फोटो दक्षिण बाट उत्तर तर्फ खिचिएको हो |

हालसम्म विभिन्न संस्थाहरु र व्यक्तिहरु ले बताउनु भए झैँ पहिरो ड्यामले बाढी आएको वा छेउछाउका खोला नाला हिमपहिरो पछी थुनिएर सेतीमा बाढी आएको भन्ने कुरा हाम्रो नजिक बाट गरिएको हवाई सर्भे मा पटक्कै देखिएन | केहि राष्ट्रिय र अन्तराष्ट्रिय गैर-सरकारी संस्थाहरुले भू-उपग्रहको चित्रबाट बताए अनुसार को गत अप्रिल २० गते देखि नै सेती नदि थुनिन थालेको र त्यहि पहिरो अझ ठुलो भएर सेती नदि थुनिएर रहेको र ड्याम फुटेर बाढी आएको कुरा पनि सहि होइन | त्यो पहिरो त्यस्तो ठुलो पनि छैन र त्यसले पानी थुनेको चिन्ह पनि हवाई सर्भे मा देखिएन (फोटो न. ४ मा हेर्नुस) | जुनकुरा जो कोहि ले पनि "गाइने-किरो" चढेर हेर्न सक्छन | सबै भन्दा अचम्म त संचार माध्यम देखि राष्ट्रिय र अन्तराष्ट्रिय गैर-सरकारी संस्था सम्मले पाइलट अलेक्जेन्डर माक्सिमोभ जस्ता प्रत्यक्षदर्शीको भनाइलाई वास्तै नगरेको देखिएको छ | यसरी घटना लाई आफुखुशी बयान गर्न थालेर हामीले वास्तविक तथ्यलाई धेरै पर राखेका रहेछौ |



फोटो न. ४ : भू-उपग्रह को फोटो मार्फत अनुमान गरिएको पहिरो ड्याम बनेको ठाउँ, तर यहाँ कुनै पहिरो ड्याम देखिएनयो फोटो दक्षिण बाट उत्तर तर्फ खिचिएको हो |

अन्नपुर्ण हिम श्रृंखलामा रहेको सेती को मुहानको २०६९ बैशाख २३ मा हिम पहिरोको शुरुवात भएको ठाउमा अझैपनि मथिल्लो भागमा प्रशस्त हिउ थुप्रिएको देखिएको छ  | यसको मतलब खतरा टरी सकेको छैन भन्ने कुरा सबैले बुझ्न जरुरि छ | यसैले सेती नदि को किनार मा बसोबास गर्नेहरुलाई जति सक्दो चाडो सुरक्षित स्थलमा स्थान्तरण गर्न हतार भैसकेको छ | कम्तिमा सेतीको दाया वाया रहेका मध्ये सबै भन्दा तल्लो टार (Lower Terrace) हरुमा मानव वस्ती तत्काल हटाउनु पर्छ | यहानेर तल्लो टार भन्नाले खारपानी बजारको सतही स्तर सम्म को टार भन्ने बुझनु जरुरि छ | त्यसै गरि सेतीको हिडेर पुग्न सकिने माथिल्लो भाग बाट खारपानीसम्म कम्तिमा तिन वटा बाढीको सेन्सर तत्काल जडान गर्नु पनि जरुरि छ | साथै, कम्तिमा दुई किलोमीटर को दुरीमा पुर्व सूचना को लागि साइरनहरुको निर्माण गर्न पनि त्यतिकै जरुरि छ | यस्तैगरि, सेन्सरले दिएको पुर्व सुचना प्रवाहित गर्न एफ एम रेडियो र मोवाइल फोन को एस एम एस सेवा पनि प्रयोग गर्न सकिन्छ | साथै "गाइने-किरो" जस्ता जहाज वा हेलिकोप्टर हरु बाट ठुला लाउड स्पीकर मार्फत माथिल्लो भेगमा बाढी आउना साथ तल्लो भेगलाई पुर्व सुचना प्रवाहित गर्न सकिन्छ | यी सबै काम सरकार को वार्षिक बजेट बाटै गर्न सकिने भएकोले कुनै विदेशी दात्री निकाय को खोजि गरिरहन जरुरि छैन | बरु सेन्सर र साइरन हरु स्थानीय समुदायलाई जिम्मा दिएर नियमित स्याहार सम्भार गर्न चाहिँ अति नै जरुरि छ |

पहिरो र बाढी को समस्या लाई हल्का रुपले लिन नहुने कुरा सेती बाढीले प्रष्टयाएको छ | पहिरो र बाढी विपत ब्यवस्थापनमा विशेषज्ञको उपस्थिति अति नै नगन्य रुपमा हुने हाम्रो देशमा यसता घटना पुन दोहोरिन नदिन घटना घटिसके पछी कुराको प्रष्ट जानकारी दिन सक्ने विज्ञ छान्न पनि सरकार र संचार मध्यमहरु चुकेको देखिएको छ | जसले गर्दा आम जनमानस लाई वास्तविकता भन्दा धरै फरक जानकारी गराइएको छ | यसरी विपत ब्यवस्थापनमा विशेषज्ञहरुको अनुपस्थिति हुनु राष्ट्रको दिगो विकाशमा अति नै पिडादायक हुनसक्ने कुरा सेती बाढी र त्यसपछिको घटनाले देखाएको छ | हाल नेपालमा विपत व्यवस्थापनमा ३०० भन्दा बढी सरकारी र गैर सरकारी निकायहरुले काम गरिरहेका छन्, तर दिनदिनै पहिरो र बाढी को जोखिम बढीरहेको छ | यसको प्रमुख कारण सरकारी र गैर सरकारी निकायहरुमा सम्बन्धित विशेषज्ञहरुको उपस्थिति अति नै न्यून रहेकोले गर्दा नै हो | अझै कति विपत ब्यवस्थापनमा कम गर्ने गैर सरकारी संस्थाहरुलाई त पहिरो र बाढी को बारेमा कसले अध्ययन र अनुसन्धान गर्छ भन्ने समेत थाहा छैन | विशेषज्ञहरुको अध्ययन र अनुसन्धानलाई कसरी जनता को लागि प्रयोग गर्ने भनेर सम्बन्धित विशेषज्ञहरु सित सहकार्य गर्नु त कता हो कता, अन्तराष्ट्रिय र राष्ट्रिय गैर-सरकारी संस्थाहरुका विकाशे नेताहरु "मलाई सबै थाहा छ" को आडम्बर मा काम गरिरहेका छन् | अनि यस्तै विकाशे नेताहरुलाई अन्तराष्ट्रिय संस्थाहरुले हाम्रो देशको राष्ट्रिय बजेट जत्तिकै लगानी गरि रहेका छन् | यस्तो बिकराल परिस्थितिमा अझै कति नेपाली सेती को बाढीमा बग्नु पर्ने हो सबैले गम्भीर भएर सोच्नु पर्ने बेला आइसकेको छ |

एभिया क्लब नेपाल लाई हाम्रो यो अध्ययन मा पुराएको सहयोगको लागि धेरै धेरै धन्यवाद !

कमेन्ट र सल्लाहको लागि : यहाँ थिच्नुस

अंग्रेजीमा पढ्नको लागि : यहाँ थिच्नुस 

नागरिक न्युज मा प्रकाशित लेख  पढ्न : यहाँ थिच्नुस

couponcodeshosting